सुनको भाउले अझै अनिश्चित समयसम्म नयाँ रेकर्ड कायम गर्ने सुनको भाउले अझै अनिश्चित समयसम्म नयाँ रेकर्ड कायम गर्ने
काठमाडौं- विश्वकै अर्थतन्त्र कमजोर हुँदै गर्दा सुनले दिनदिनै नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। कोभिड १९ को विश्वव्यापी प्रभाव अझै कम हुन सकेको छैन। गत... सुनको भाउले अझै अनिश्चित समयसम्म नयाँ रेकर्ड कायम गर्ने

काठमाडौं- विश्वकै अर्थतन्त्र कमजोर हुँदै गर्दा सुनले दिनदिनै नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। कोभिड १९ को विश्वव्यापी प्रभाव अझै कम हुन सकेको छैन। गत मार्चदेखि विश्व बजारमा सुनको भाउ लगातार बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा विगत ५ महिनाको अवधिमा सुनको भाउ प्रतिऔन्स ५ सय डरले बढिसकेको छ।

लगानीका नयाँ अवसरहरु नदेखिएपछि लगानीकर्ताको ध्यान सुनमा पर्ने कमोडिटी बजारका विश्लेषक दिपेन्द्र बाँस्कोटा बताउँछन्। उनले भने ‘कोभिडको प्रभाव अझै कति समयसम्म रहन्छ भन्ने यकिन छैन। लगानीकर्ताहरु सुन बेच्ने भन्दा पनि खरिद गर्ने मुडमा भएकाले सुनको भाउ बढिरहेको छ।’

संकटको समयमा लगानीकर्ताको मनोविज्ञान ‘सुन कहिले पनि नुन हुँदैन’ भन्ने मान्यता रहेको हुन्छ। सुन चाँदीको बजारमा सेयर बजार जस्तो धेरै उतार चढाव नहुने विश्लेषकहरु बताउँछन्। बढ्न थालेपछि उचाइमा पुग्ने र केहि करेक्सन पछि मात्रै घट्ने प्रवृत्तिले गर्दा यसको मूल्य अझै उचाइमा पुग्ने विश्लेषण गरिएको छ।

विश्व बजारमै सुनको भाउ अत्याधिक बढे पनि कोभिड १९ का कारण सुन खानी बन्द छन्। माग अनुसार उत्पादन नहुँदा मूल्यले आकास छोएको विश्लेषकहरु बताउँछन्। मूल्यलाई माग र आपूर्तिसँगै विश्व अर्थतन्त्रले पनि प्रभावित पारिरहेको हुन्छ। कोभिडका कारण विश्वकै अर्थतन्त्र घट्ने आंकलन गरिएको छ।

विश्वकै केन्द्रीय बैंकले बण्डको व्याजदर घटाइरहेको छ। सुरक्षित लगानीको रुपमा लिइने बण्डको व्याजदर घट्दै गर्दा लगानीकर्ताले उच्च प्रतिफलका लागि सुनमा लगानी गरिरहेका छन्। संसारको वित्तीय प्रणालीमा परिवर्तन हुने आंकलन गरिएको छ। विश्वकै वित्तीय प्रणाली परिवर्तन हुँदा सबैभन्दा धेरै डलरमा दवाव पर्नेछ। वित्तीय प्रणालीको प्रभावबाट बच्नका लागि पनि आम लगानीकर्ताको ध्यान सुनमा गएको विश्लेषकहरु बताउँछन्।

बैंकहरुले नोट निष्काशनका क्रममा बण्ड डिवेन्चर तथा विदेशी मुद्रालाई भन्दा सुनलाई बढी प्राथमिकता दिँदा सुनको माग बढेको सुनचाँदी व्यवसायी महांसघका निवर्तमान अध्यक्ष माणिक रत्न शाक्यले बताए। संसारका अधिकांश केन्द्रीय बैंकहरु नोट निष्काशन गर्दा आवस्यक पर्ने डिपोजिटको रुपमा सुनका साथै बण्ड तथा विदेशी मुद्राहरु राख्थे। बासेल-३ ले बैंकहरुलाई नोट निष्काशनका लागि आवस्यक पर्ने डिपोजिटको रुपमा डिवेन्चर तथा विदेशी मुद्रालाई भन्दा सुन जस्ता ठोस बस्तुमा ध्यान दिनु पर्ने मान्यता राखेको छ।

यस नीति अनुसार सन् २०२२ सम्ममा केन्द्रीय बैंकहरुले सुनजस्ता भौतिक डिपोजिटलाई अनिवार्य रुपमा राख्नु पर्नेछ। त्यसैले गर्दा पछिल्लाे समय सुनको नयाँ खरिदकर्ताको रुपमा केन्द्रीय बैंकहरु अगाडि छन्। उनिहरु वर्षेनी सुनको मौज्दात बढाउने पक्षमा छन्। गत वर्षमात्रै केन्द्रीय बैंकहरुले ६५० टनभन्दा धेरै सुन खरिद गरेका थिए। आगामी दिनमा यो क्रम अझै बढ्ने आंकलन गरिएको छ।

नेपाली बजारमा 
चालु आर्थिक वर्षको बजेटमा सुनको आयातमा कर बढाइएको छ। गएका वर्षमा प्रतिकिलो साढे ६ लाख रुपैयाँ भन्सार लाग्थ्यो भने अहिले प्रतिकिलो साढे आठ लाख रुपैयाँ भन्सार लाग्छ। यसले प्रतितोला सुनमा भन्सार मात्रै १० हजार रुपैयाँ पर्छ। यसले मूल्य वृद्धिमा ठूलो असर गरेको मणिक रत्नले बताए।

नेपालमा सुनको भाउ बढ्नुको अर्को कारण अमेरिकी डलरको विनिमय दरले गर्दा पनि हो। हाल नेपालमा अमेरिकी डलरको विनिमय दर १२० रुपैयाँ छ।
नेपालमा सुनको मूल्य निर्धाण गर्दा सबैभन्दा पहिले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यलाई आधार बनाइन्छ। यसमा आयात खर्च, सञ्चालन खर्च, बैंकको ०.५० प्रतिशत र डिलरको ०.५ प्रतिशत जोडेर मूल्य निर्धाण गरिन्छ।

लकडाउन अगाडि सुनचाँदी व्यवसायी महासंघले मात्रै मूल्य निर्धारण गर्दै आएकोमा पछिल्लो समय रत्न आभुषण महासंघले पनि मूल्य निर्धाण गर्न थालेको छ। दैनिक १०औं किलो सुन खपत हुने नेपाली बजारमा थोरै मात्रै बढी मार्जिन लिन सकियो भने लाखौ रुपैयाँ नाफा हुने भएपछि व्यवसायीहरुमा मूल्य निर्धारणलाई लिएर विवाद हुने गरेको छ।

लकडाउनपछि दुवै संस्थाले मूल्य निर्धारण गरे पनि आवश्यक छलफल गरेर एउटै मूल्य तोकिने शाक्यले बताए। अन्तर्राष्ट्रिय बजारमा सेकेण्डमै मूल्य फरक फरक हुन्छ। अन्तर्राष्ट्रिय बजारमा ०.५ प्रतिशतसम्मको तलमाथि भएको अवस्थामा नेपाली बजारमा सामान्य लिइन्छ। यसले सुनको मूल्यमा खासै तलमाथि पार्दैन। त्यस भन्दा माथिको उतार चढाव पछि भने मूल्यमा केहि फरक पर्न जान्छ। दुवै संस्थाको मूल्यमा फरक आउनुकाे कारण अन्तर्राष्ट्रिय बजारको कुन समयको मूल्यलाई आधार बनाउने भन्ने विषयले गर्दा विवाद भएको शाक्याले बताए।

पछिल्लो समय नेपाली बजारमा सुनको माग नगन्य छ। तर, सुन बेच्न आउनेको संख्या भने बढिरहेको छ। भाउको कारणले बजारमा बिक्रीका लागि ग्राहकहरु आउने गरेका छन्। यस्तो अवस्थामा बिक्री गर्नेलाई सहज भएको व्यवसायी शाक्यले बताए।

बजार बढ्दो क्रममा रहेकाले पनि व्यवसायी सुन किन्ने अवस्थामा पुगेका हुन्। तर, कतिपय व्यवसायीले सुन किन्न सकिरहेका छैनन्। लकडाउनपछि सुन बिक्री गर्नेको संख्या बढ्ने आंकलन गरिए पनि सोचिएअनुसार नभएको व्यवसायीहरु बताउँछन्। nepallive.com