बिर्तामोड– झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था र दमक–६ मा कार्यालय रहेको कान्तिपुर वचत तथा ऋण सहकारी संस्थाबीच... हाम्रो नेपाल र कान्तिपुर सहकारीबीच एकीकरण

बिर्तामोड– झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था र दमक–६ मा कार्यालय रहेको कान्तिपुर वचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ । आइतवार आयोजित दुवै सहकारी संस्थाका सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुको वैठकले दुवै सहकारी संस्था एकीकरण भएको निर्णय गरेको हो ।

हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल र कान्तिपुर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वासुदेव भट्टराईको संयुक्त अध्यक्षतामा भएको वैठकले प्रदेश सहकारी रजिष्टार कार्यालय इटहरीको २०७७ असार २३ को पूर्व स्वीकृति बमोजिम दुवै सहकारी संस्थाबीच एकीकरणको निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष दंगालले सहकारी संस्थाको उद्देश्य एउटै भएका कारण ती दुई सहकारीवीच एकीकरण गरिएको बताए । संस्थाको हालसम्म १६ वटा सेवा केन्द्र रहेको र एकीकरणपछि दमकमा १७ औँ सेवा केन्द्रको रूपमा कार्यालय सञ्चालन गरिने उनले बताए ।

उनले दुवै सहकारी संस्था एकीकरणपछि गत जेठ ३२ गतेसम्म संस्थामा एक सय ३७ जना कर्मचारी, १४ हजार एक सय ९२ जना शेयर सदस्य, संस्थाको शेयर पुँजी सात करोड ४१ लाख ८१ हजार सात सय रुपैयाँ, निक्षेप संकलन ४८ करोड २७ लाख ८८ हजार छ सय ६४ रुपैयाँ, ऋण लगानी ६९ करोड ७२ लाख ३५ हजार दुई सय २० रुपैयाँ रहेको वित्तिय विवरण प्रस्तुत गरेका थिए ।

संस्थाको आम्दानी आठ करोड ३९ लाख ३४ हजार एक सय ७६ रुपैयाँ, खर्च सात करोड ८८ लाख ८२ हजार एक सय ५६ रुपैयाँ र संस्थाले ५० लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको उनले जानकारी दिए । कार्यक्रममा कान्तिपुर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भट्टराईले आफ्नो संस्था २०६८ साल पुस ५ गतेदेखि सञ्चालनमा रहेको बताउँदै संस्था एकीकरण भएसँगै अझ मजवुत वनेर शेयर सदस्यलाई वित्तीय सेवा प्रवाह गरिने जानकारी दिए ।

वैठकले दुवै सहकारी संस्थाबीचको एकीकरणको अन्तिम स्वीकृतिका लागि प्रदेश सहकारी रजिष्टार कार्यालय इटहरी पठाउने निर्णय गरेको छ ।