सुनचाँदी व्यवसायीको घरमा प्रहरीको छापा, डेढलाख नक्कली भारु फेला सुनचाँदी व्यवसायीको घरमा प्रहरीको छापा, डेढलाख नक्कली भारु फेला
बिर्तामोड– झापाको सुरुङ्गाका सुनचाँदी व्यवसायी मौसम श्रेष्ठको घरमा छापा मारेर प्रहरीले नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ । व्यवसायिक कारोवारमा नक्कली भारतीय रुपैयाँको प्रयोग... सुनचाँदी व्यवसायीको घरमा प्रहरीको छापा, डेढलाख नक्कली भारु फेला

बिर्तामोड– झापाको सुरुङ्गाका सुनचाँदी व्यवसायी मौसम श्रेष्ठको घरमा छापा मारेर प्रहरीले नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ । व्यवसायिक कारोवारमा नक्कली भारतीय रुपैयाँको प्रयोग भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले श्रेष्ठको घरमा छापा मारेको हो ।

छापाका क्रममा श्रेष्ठको घरबाट १ लाख ४४ हजार भारतीय नक्कली रुपैयाँ बरामद भएको बिर्तामोड प्रहरीका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए । बरामद गरिएका नोट ५ सय दरका छन् । प्रहरीले २८८ वटा नोट बरामद गरेको हो ।

प्रहरीले नक्कली नोटको कारोवारमा संलग्न भएको अभियोगमा झापाको कनकाई नगरपालिका–४ का खुर्सेद आलम र झापा गाउँपालिका–५ का एराजुल हकलाई पनि पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रबाट हकले भारतीय नक्कली नोट आलमलाई सप्लाई गर्दै आएको खुलेको छ । आलमले श्रेष्ठलाई भारतीय नोट दिने गरेका थिए । श्रेष्ठमार्फत भारतीय नक्कली नोट बजारसम्म पुग्ने गरेको प्रहरी अनुमान छ ।

‘लकडाउन खुकुलो भएको मौका छोपेर भारतीय तस्करसँगको साँठगाँठमा नक्कली भारतीय रुपैयाँ झापाका बजारमा भित्रिएको हुनसक्छ’, डीएसपी रिजालले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा छौँ, धेरै कुरा खुल्न बाँकी छ ।’

आलम र हकले ती नोट भारतबाट ल्याएको प्रारम्भिक बयान प्रहरीमा दिएका छन् । त्यसैका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनीहरुका साथबाट नेपाली २० हजार पाँचसय रुपैयाँ बरामद भए पनि ती भने नक्कली नपाइएको प्रहरीले जनाएको छ ।