नेपालमा उत्पादित अलैँची निर्यातमा  भारतीय अवरोध, व्यवसायी मारमा नेपालमा उत्पादित अलैँची निर्यातमा  भारतीय अवरोध, व्यवसायी मारमा
झापा– भारतले नेपालमा उत्पादित अलैँची निर्यातमा पनि अवरोध गरेको छ । यसअघि तयारी चिया निर्यातमा पनि भारतीय अवरोध भएको थियो । नेपाली कृषिजन्य उत्पादनलाई भारतले... नेपालमा उत्पादित अलैँची निर्यातमा  भारतीय अवरोध, व्यवसायी मारमा

झापा– भारतले नेपालमा उत्पादित अलैँची निर्यातमा पनि अवरोध गरेको छ । यसअघि तयारी चिया निर्यातमा पनि भारतीय अवरोध भएको थियो । नेपाली कृषिजन्य उत्पादनलाई भारतले लक डाउनयता प्रवेश दिन मानिरहेको छैन ।

नेपाली कृषिजन्य उत्पादनमा निर्यात अवरोध भइरहे पनि भारतीय मालवस्तु भने काँकडभिट्टास्थित मेची भन्सार नाकाबाट नियमित भित्रिरहेका छन् । खाली ट्रक पनि नपठाउनु भन्ने भारत पश्चिम बंगाल सरकारको उर्दीपछि कुनै पनि सामान भारत निकासी नभएको मेची भन्सार कार्यालयले जनाएको छ ।

कृषिजन्य बस्तुमध्ये निर्यातमा अलैँची सबैभन्दा अग्रपङ्तिमा छ । आर्थिक वर्ष २०७५÷७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची निर्यात हुँदा चार अर्ब बराबरको विदेशी मुद्रा नेपाल भित्रिएको थियो । तर, यसवर्ष भारतीय अवरोधले गोदाममा ४० प्रतिशत अलैँची थन्किएको नेपाल अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव सुवास भट्टराई उत्पादित अलैँची निर्यातमा अवरोध हुँदा बैक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कारोवार गरिरहेका व्यवसायी चर्काे मर्कामा परेको बताउँछन् । ‘चर्को बैंक व्याजका कारण यस क्षेत्रका व्यवसायीहरु धराशायी हुने निश्चित भएको छ’, महासचिव भट्टराईले भने, ‘अलैँची व्यवसायीलाई राहत दिने गरी सरकारले व्याज छुटको कार्यक्रम ल्याउनु पर्छ ।’

घर र गाडी कर्जामा मात्रै व्याज छुट दिने सरकारी नीति व्यवहारिक नभएको संघका अध्यक्ष राजकुमार कार्की बताउँछन् । ‘व्यवसायी र किसानमा छाएको निराशा अन्त्यका लागि पनि तीनै तहका सरकारले मनोबल बढाउने गरी कृषि पुनरुत्थानका कार्यक्रम ल्याउनु पर्छ’, अध्यक्ष कार्कीले भने ।

निर्यातमा भइरहने अवरोधका कारण किसानसँग अहिले पनि १० प्रतिशत अलैँची स्टक छ । आगामी दुई महिनामा नयाँ फसल बजारमा आउन लागेकाले यस्तै अवस्था रहे अलैँची व्यवसाय पूर्णरुपमा धरासायी हुने महासचिव भट्टराई बताउँछन् ।

भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर सम्मको पाँच महिनामा २३ लाख १६ हजार ८ सय ८७ किलो अलैँची नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको छ । जसबाट १ अर्ब ८६ करोड बराबरको आम्दानी भएको तथ्याङ्कले देखाउँछ ।

नेपालमा करिब १४ देखि १५ हजार हेक्टरमा अलैंची उत्पादन हुँदै आएको छ । उत्पादित अलैंची भारत, चीन, कतार, युएई लगायत देशमा निर्यात हुँदै आएको छ । त्यीमध्ये भारतले नेपालबाट धेरै मात्रामा अलैंची खरिद गर्छ । नेपालमा कुल उत्पादनको दुई प्रतिशत मात्र खपत हुन्छ भने बाँकी ९८ प्रतिशत अलैंची बाह्य मुलुकमा निर्यात हुँदै आएको छ ।