टिकटकमा रमाउँदै छन् नायिकाहरु





मनोरञ्जन २५ बैशाख २०७७, बिहीबार ०९:००

अभिनेत्री निरुता सिंह अहिले मुम्बईमा छिन् । महाराष्ट्रमा कोरोना संक्रमित बढेपछि लक डाउन निकै कडा गरिएको छ । त्यसैले, घरमै बस्नुपर्दा उनलाई दिक्क पनि... टिकटकमा रमाउँदै छन् नायिकाहरु

अभिनेत्री निरुता सिंह अहिले मुम्बईमा छिन् । महाराष्ट्रमा कोरोना संक्रमित बढेपछि लक डाउन निकै कडा गरिएको छ । त्यसैले, घरमै बस्नुपर्दा उनलाई दिक्क पनि लागेको छ । उनी भन्छिन्, ‘मनोरञ्जनका लागि अहिले टिक टक छ । यही नै सहारा भए जस्तो भयो ।’ उनले बुधबार मात्र दुई वटा टिकटक भिडियो बनाएर फेसबुकमार्फत अरूलाई सेयर गरेकी छन् । उनले यो टिकटक भिडियोलाई ‘फन्नी टाइम पास’ भनेकी छन् ।

अभिनेत्री निरुता मात्र हैन, अरू पनि थुप्रै अभिनेत्रीका लागि अहिले लक डाउनमा समय बिताउन टिकटक रमाइलो माध्यम बनेको छ । लक डाउनमा नियमित टिकटक बनाउने अभिनेत्रीमा वर्षा राउत पनि पर्छिन् । उनले विभिन्न घरायसी कार्यको टिकटक बनाएर आफ्नो एकाउन्टमा सेयर गरेकी छन् । मःमः पकाएको, अन्डा उसिनेको, बारीमा साग टिपिरहेको जस्ता विभिन्न घरायसी कार्यलाई यी अभिनेत्रीले टिकटकको रूपमा ल्याएकी छन् । त्यसो त विभिन्न गीत र संवादमा आफू प्रस्तुत भएर वर्षाले त्यसलाई टिकटकको रूपमा बनाएकी छन् ।

टिकटकमा सक्रिय अर्की अभिनेत्री केकी अधिकारी पनि हुन् । उनी पनि बेला बेलामा टिकटकमा आफ्ना गीत, भिडियो तथा अभिनय प्रस्तुतिलाई सेयर गरिरहेकी हुन्छिन् । पछिल्लोपटक लक डाउनको २९औं दिनको अवसरमा यी अभिनेत्रीले टिकटकमा बाल्यकालको सम्झना शीर्षकमा एउटा भिडियो सेयर गरेकी छन् । त्यसपछि भने उनले टिकटकमा भिडियो सेयर गर्न भ्याएकी छैनन् । उनका ४० भन्दा बढी भिडियो टिकटकमा सेयर छन् ।

टिकटकमा सक्रिय अर्की अभिनेत्री रेखा थापा हुन् । तर, उनको टिकटकको शैली फरक छ । अरूको गीत तथा संवादमा अभियन गरेर टिकटक बनाउनुभन्दा रेखाले आफ्नो गीत र संवादलाई नै रोज्ने गरेकी छन् । अभिनेता रेखाले त्यसैले आफूले फिल्ममा अभिनय गरेको संवाद र गीतलाई टिकटकका रूपमा प्रस्तुत गर्दै आएकी छन् ।