सुब्रत न्यौपाने– २०७६ फागुन २१ गते बुधवार विहान ९ बजे । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने तयारी गरिँदै थियो । प्रधानमन्त्री... प्रधानमन्त्रीलाई मिर्गाैला दिने समीक्षाका आमाबाबु भन्छन्, ‘छोरीको हिम्मतलाई सलाम छ’

सुब्रत न्यौपाने– २०७६ फागुन २१ गते बुधवार विहान ९ बजे । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने तयारी गरिँदै थियो । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दिन तयार थिइन्, भाञ्जी समीक्षा सङ्ग्रौला । ३२ वर्षीया सङ्ग्रौलाको माइतीघर झापा विर्तामोड–७ गोलधाप (पहिलेको भुटानी शरणार्थी शिविर नजिकै) हो । सञ्चारकर्मी बिहान घरमा पुग्दा समीक्षाकी आमा मुना खाना पकाउँदै थिइन् । ७० वर्षीय बाबु तुलसी, जसलाई गाउँघरमा मेदनी भनेर चिन्छन्, फूलमा पानी हाल्दै थिए । त्यहीबेला काठमाडौँमा प्रधानमन्त्री ओलीलाई मिर्गाैला प्रत्यारोपण गर्न अपरेशन थिएटरमा लैजान लागिएको थियो । समीक्षा पनि अपरेशन थिएटरमा छिर्न लागेकी थिइन् ।

संवाद सुरु भयो । आमा मुनाले भनिन्, ‘दुबै जनाको स्वास्थ्यलाभका लागि भगवान्सँग प्रार्थना गर्छाै ।’ उनले शल्यक्रिया सफलताको कामना गर्दै दीप प्रज्वलन गरेर पशुपतिनाथसँग बिहानै आशीर्वाद मागेको सुनाइन् । फुलमा पानी हालिरहेका बाबु मेदनी केहीवेर भावुक भए । उनीहरुलाई छोरीले मिर्गाैला दिएकोमा रत्तिभर चिन्ता छैन । प्रधानमन्त्री ओलीलाई नयाँ जीवन दिने समीक्षाको निर्णयमा उनीहरु औधी खुशी छन् ।

प्रधानमन्त्री ओली र समीक्षाबीच मामा भाञ्जीको नाता छ । कान्छोको छोरा प्रधानमन्त्री ओली हुन् भने साहिलाकी छोरी समीक्षाकी आमा हुन् । झापाको माटोमा हुर्की बढेकी समीक्षा अहिले काठमाडौँमा बस्छिन्। उनले बाल्यकालको शिक्षा झापा गरामनीको दुर्गा माविबाट लिएकी हुन् । उच्च शिक्षा मेची क्याम्पसमा पढिन् । तर पढाई पूरा हुन पाएन । छेउमै रहेका कान्छा छोरा दिनेशलाई पानीको पाइप बन्द गरिदिन आग्रह गर्दै बाबु मेदनीले भने, ‘देशको लागि केही गर्छु भन्नेलाई मिर्गाैला दिन पाउँदा हामी खुशी छौँ ।’

मेदनीले समीक्षाको आत्मविश्वास बलियो रहेको सुनाउँदै समाज र राष्ट्रको हितमा लाग्न सक्ने खुबी रहेको बताए । आमा मुनाले छोरीको साहसिक निर्णयको प्रशंसा गरिन् । ‘छोरीले जुन आँट हिम्मत गरी त्यसका लागि उसलाई सलाम छ । धन्यवाद छ’, मुनाले भनिन् । छोरा दिनेशका अनुसार सुरुमा मुना आफैँले प्रधानमन्त्री ओलीलाई मिर्गाैला दिन चाहेकी थिइन् । ‘पछि के भयो खोई समीक्षाले दिने भइ’, उनले भने, ‘अञ्जना माइजु (अञ्जना घिमिरे) ले दिएको थाहा पाएपछि उसलाई पनि कन्फिडेन्स भयो होला ।’

अञ्जना तिनै महिला हुन्, जसले पहिलोपटक प्रधानमन्त्री ओलीलाई मिर्गाैला दिएकी थिइन् । नाताले भाइबुहारी पर्ने अञ्जनाको अनुभव पनि समीक्षाका लागि मिर्गाैला दिने आधार बनेको भाइ दिनेश बताउँछन् । समीक्षाको घर पाल्पा । श्रीमान् कमल ज्ञवाली नेपाली सेनाका जागिरे छन् । समीक्षाचाहिँ पार्लर व्यवसायमा लागेकी छन् ।

प्रधानमन्त्री ओलीले समीक्षालाई औधी माया गर्छन् । झापा आएका बेला समय मिलेसम्म उनी समीक्षाको घरमा निस्किछन् । ‘मामा (प्रम ओली) यता आउँदा कि निस्किनु हुन्छ, नभए आमासँग कुरा गर्नु हुन्छ’, दिनेश भने । तस्वीरहरु–विष्णु कुल श्रेष्ठ

२०७६ फागुन २२ को विवेचना दैनिकमा प्रकाशित