छुट्टै टीम बनाएर सभापतिमा चुनाव लड्ने सिटौलाको घोषणा छुट्टै टीम बनाएर सभापतिमा चुनाव लड्ने सिटौलाको घोषणा
भद्रपुर– काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवासँग आफ्नो फरक मत कायम रहेको भन्दै पार्टीका सबै जनबर्गीय सङ्गठनको अधिवेशन सकिएपछि आफ्नो टीम घोषणा... छुट्टै टीम बनाएर सभापतिमा चुनाव लड्ने सिटौलाको घोषणा

भद्रपुर– काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवासँग आफ्नो फरक मत कायम रहेको भन्दै पार्टीका सबै जनबर्गीय सङ्गठनको अधिवेशन सकिएपछि आफ्नो टीम घोषणा हुने बताएका छन् । झापाको चन्द्रगढीमा पत्रकार सम्मेलन गरी नेता सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बेला आएको बताएका हुन् ।

नेता सिटौलाले नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो बैचारिक धारको अलग्गै टीम कायम रहने बताए । पार्टी सभापति शेरवहादुर देउवाले महाधिवेशन घोषणा भइसकेको अवस्थामा केन्द्रीय सदस्य मनोनयन र विभाग गठन गरेपछि सिटौला मौन छन् । यसलाई सभापति देउवासँग सिटौला नजिक भएको रुपमा हेरिएको छ ।

सभापति शेरबहादुर देउवाले १३ वटा विभागका प्रमुख तोक्दा १३ औं नम्बरमा काभ्रेका शिव हुमागाईको नाम अटाएको छ । उनलाई श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुखको जिम्मेवारी दिइरहँदा झापाका शालिन काङ्ग्रेस नेता सुधीरकुमार सिवाकोटी पाँचजना आमन्त्रित केन्द्रीय सदस्यको सूचीमा मनोनित भएका छन् । हुमागाई र शिवाकोटी दुबै नेपाली काङग्रेसमा ‘तेस्रो धार’ बनाउन सङ्घर्षरत पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहमा छन् । देउवाको यो निर्णयले सिटौला पार्टी सभापति देउवातिर नजिकिएको प्रष्ट भएको छ ।

सिटौला समूहका कतिपय नेता सभापति देउवाको मनोनयनमा परेपछि देउवाले सिटौलालाई आफूतर्फ तान्न खोजेको एकथरि काङ्ग्रेस कार्यकर्ताको टिप्पणी छ । मनोनयनप्रति रामचन्द्र पौडेल समूहले विरोध जनाइरहँदा मौन बसेका सिटौलाले भने १४औँ महाधिवेशनमा देउवालाई सघाउने विषयमा सोच्न पनि नसकिने बताएका छन् । ‘म सभापतिको उम्मेद्वार होइन भन्ने भ्रम छ भने आजै त्यागिदिनुस् । समय आएपछि उम्मेद्वारी घोषणा हुन्छ । पार्टीका सबै तहका अधिवेशनहरु सकिएपछि मङसिरमा टीमको घोषणा गर्छु’, पत्रकार सम्मेलनमा नेता सिटौलाले भने ।

लामो समय पार्टीको संस्थापन समूहमा रहेर काम गरेका सिटौला काङ्ग्रेसको १३ औं महाधिवेशनमा सभापति लडेका थिए । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेललाई नेता मान्न सक्दिनँ भन्दै उनले उम्मेदवारी घोषणा गरेका थिए । महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई लिएर तेस्रो समूह बनाएका सिटौला सभापतिको चुनावमा पनि तेस्रो नै भए । त्यसयता सिटौला कहिले सभापति देउवासँग नजिक देखिए त कहिले वरिष्ठ नेता पौडेलसँग नजिक देखिदै आएका छन् ।

पार्टीको आन्तरिक जीवनमा नेतृत्वको विषयलाई लिएर बहस र संवाद अनि प्रतिष्पर्धा र सहकार्य भइरहने बताउँदै उनले एकले अर्काको अनावश्यक आलोचना र विरोध गरेर सङ्गठन बलियो हुन नसक्ने टिप्पणी गरेका छन् । नेपाली काङग्रेसको आन्तरिक विवाद महाधिवेशनमार्फत समाप्त गरेर गतिशील र स्पष्ट मार्र्ग निर्देशनसहितको नेतृत्व चयन गर्नु पर्नेमा नेता सिटौलाको जोड छ ।

‘प्रेस युनियनको निर्वाचन समयमै हुनुपर्छ’
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी र शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा अडान राखेका छन् । नेपाल प्रेस युनियन झापाद्वारा सोमवार चन्द्रगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले तोकिएको मितिमा काङ्ग्रेसको महाधिवेशन हुन नसके पार्टी सङ्गठनभित्र जटिल समस्या उत्पन्न हुने चिन्ता व्यक्त गरे ।

नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघ लगायत पार्टीका भातृ संस्थाको महाधिवेशन पार्टी महाधिवेशन अगाडि गर्न नसकिए पनि प्रेस युनियन शुभेच्छुक संस्था भएको हुँदा तोकिएको समय चैत २१ र २२ मा हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा प्रेस युनियनको महाधिवेशन सार्ननहुने अभिमत राखे । उत्साहका साथ महाधिवेशनको तयारीमा लाग्न प्रेस युनियनका सबै सदस्यहरुलाई आह्वान गर्दै प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निमित्त लोकतन्त्रवादी पत्रकारहरुले चनाखो भएर कम्युनिष्ट सरकारले संवैधानिक निकायमाथि गरिरहेको हस्तक्षेपको जानकारी जनतालाई गराउन आग्रह गरे ।

नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई र सञ्चालन सचिव डिल्लीराम घोर्साईंले गरेका थिए । कार्यक्रममा युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, नेपाली कांग्रेस ३ नम्वर क्षेत्रीय सभापति गणेश पोखरेल लगायतको आतिथ्य रहेको थियो ।