धिमाल महिलालाई पेटानी बनाउन प्रेरित गर्दै ‘नारी सङ्कल्प’ धिमाल महिलालाई पेटानी बनाउन प्रेरित गर्दै ‘नारी सङ्कल्प’
बिर्तामोड– जातिय पहिरन उत्पादनका लागि धिमाल महिला आफैँले सक्रियता देखाएका छन् । बिर्तामोड नगरपालिका वडा नम्वर–१ को सहयोगमा धिमाल महिलाले परम्परागत मौलिक पहिरन ‘पेटानी’... धिमाल महिलालाई पेटानी बनाउन प्रेरित गर्दै ‘नारी सङ्कल्प’

बिर्तामोड– जातिय पहिरन उत्पादनका लागि धिमाल महिला आफैँले सक्रियता देखाएका छन् । बिर्तामोड नगरपालिका वडा नम्वर–१ को सहयोगमा धिमाल महिलाले परम्परागत मौलिक पहिरन ‘पेटानी’ उत्पादन सुरु गरेका हुन् । यसका लागि महिलाहरुको संस्था ‘नारी सङ्कल्प’ ले सघाइरहेको छ ।

सीप तथा क्षमताको विकास गरी धिमाल महिलाहरुलाई पेटानी उत्पादनका लागि प्रेरित गरिएको नारी सङ्कल्प संस्थाकी अध्यक्ष तुलसा खरेलले बताइन् । शुक्रवार धिमाल महिलाहरुले तालिमपछि आफूले उत्पादन गरेको जातिय पहिरन पेटानी सार्वजनिक गरेका छन् । वडानम्वर–१ को धिमाल बस्तीमा आयोजित कार्यक्रममा उनीहरुले आफ्नो सीप तथा कौशलबाट बनेका पहिरन कार्यक्रमका अतिथि र सहभागीलाई देखाएका हुन् ।

आधुनिकताका कारण सङ्कटमा परेको धिमाल महिलाको मौलिक पोशाक पेटानीको संरक्षणमा नगरपालिकाले चासो देखाउँदै उनीहरुलाई काममा प्रेरित गरेको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताए । नारी संकल्पले बिर्तामोड–१ को आर्थिक सहयोगमा पुस १ गतेबाट सुरु गरेको पेटानी बुन्ने तालिममा १८ जना धिमाल महिलालाई सहभागी गराएको छ । नारी संकल्पले धिमाल महिलालाई संस्कृतिको संरक्षणसँगै आर्थिक उपार्जनका लागि सहयोग गर्ने उद्देश्यले पनि तालिमको आयोजना गरेको अध्यक्ष खरेलले बताइन् ।

‘घरको काम भ्याएर धिमाल महिलाहरुले तालिममा सहभागिता जनाउँदै पेटानी उत्पादन गरिरहेका छन्’, अध्यक्ष खरेलले भनिन्, ‘यसबाट उनीहरुलाई आत्मनिर्भर हुन अझ सजिलो हुन्छ भन्ने हाम्रो विश्वास हो ।’ आधुनिक पोसाक लगाउने बढ्दो चलनले धिमाल जातिहरुको परम्परागत पोसाक पेटानी ओझेलमा पर्न थालेपछि उनीहरुलाई यसको संरक्षणमा वडा सरकारले सहयोग गरेको प्रवक्ता पाण्डले बताए । ‘पेटानी उत्पादनलाई व्यवसायिक बनाउने वडाको सोच छ’, वडाध्यक्षसमेत रहेका पाण्डेले भने, ‘यसका लागि दक्ष जनशक्ति उत्पादन गर्न पनि तालिमले सहयोग गरेको छ ।’

प्रशिक्षक सीता धिमालका अनुसार एउटा पेटानीलाइ दुई हजार देखि २५ सय रुपैंयासम्म पर्छ । तर, उत्पादन गर्ने जनशक्ति अभाव भएपछि धिमाल महिलाहरुले आफ्नो परम्परागत पहिरन सङ्कटमा परेको अनुभव गर्दै आइरहेका छन् । तालिमपछि १८ जना महिलाको जनशक्ति तयार हुने प्रशिक्षक धिमालले बताइन् । सिकेको सीपलाई व्यवहारमा उतार्न सबैको सहयोग चाहिने प्रशिक्षार्थी अनिषा धिमालले बताइन् । वडा सचिव टीका अधिकारी पनि सीप भएर मात्रै नहुने तर व्यवहारमा उतार्न सके आत्मनिर्भर बन्न सजिलो हुने बताउँछिन् ।