अर्जुनधारा नगरपालिकाले वडा तहबाट पर्यटन प्रवद्र्धन अभियान सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न स्थानीयस्तरबाटै अभियान सुरु गरिएको नगरपालिकाले जनाएको... अर्जुनधारामा वडा तहबाट पर्यटन प्रवद्र्धन अभियान

अर्जुनधारा नगरपालिकाले वडा तहबाट पर्यटन प्रवद्र्धन अभियान सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न स्थानीयस्तरबाटै अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनलाई चलायमान बनाउँदै बाह्य पर्टक नगरपालिकामा भित्र्याउने योजना रहेको नगर प्रमुख हरिकमुार रानाले बताए ।

‘भ्रमण वर्षलाई सफल बनाउन वडास्तरबाटै थालनी गरेर नगरस्तरीय अर्जुनधारा महोत्सव गर्ने तयारी गरेका छौँ’, शुक्रवार अर्जुनधारामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख रानाले भने । नगरपालिकाले आन्तरिक पर्यटकीयस्थललाई पहिलो चरणमा प्रवद्र्धन गर्ने अभियान चलाइएको जनाएको छ । नगरप्रमुख रानाले नगरमा भएका पर्यटकीयस्थलसँगै धार्मिकस्थलका बारेमा थप जानकारी दिन महोत्सव गर्न लागिएको जानकारी दिए ।

वडास्तरबाटै तयारी गरिँदा जनमानसमा पनि सकारात्मक सन्देश जाने भएकाले नगरले बृहत् योजनाबाट कार्यक्रम गर्न लागेको बताए । उनका अनुसार नगरका ११ वटा वडामा आयोजना हुने वडास्तरीय कार्यक्रम प्रत्येक दिन प्रदेश सरकारका मन्त्रीले उद्घाटन गर्ने व्यवस्था मिलाइएको छ ।

फागुन ४ गते ७ नम्बर वडाबाट सुरु गरिने वडास्तरीय कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की आउने निश्चित भएको छ । फागुन १५ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुशियतको उपस्थितिमा कार्यक्रमको समापन हुनेछ । वडास्तर कार्यक्रममा खेलकुदका ९ विधा र भाषा, कला, साहित्य संस्कृतिका ८ वटा विधालाई समेटिएको छ । आसन्न राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरी विद्यालयस्तरका प्रतियोगितालाई पनि समेटिएको नगर प्रमुख रानाले बताए ।

‘११ वटामा कार्यक्रम सम्पन्न गरेपछि फाइनल चरणका कार्यक्रम नगर महोत्सवमा प्रस्तुत गरिनेछ’, उनले भने । वडास्तर कार्यक्रममा योजना, पशु, कृषि, स्वास्थ्यलगायतका विषयगत शाखाबाट उपलब्ध हुने सेवाका बारेमा शिविरमार्फत जानकारी र सेवा दिइने नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताए । उनका अनुसार वडास्तरीय कार्यक्रम गर्न प्रत्येक वडालाई नगद २ लाख रुपैयाँ खर्च विनियोजन गरिएको छ ।

‘वडाबाटै कार्यक्रम गरेर नगरमा भ्रमण वर्ष सफल बनाउने हाम्रो योजना हो’, उनले भने । करिब एक साताभन्दा लामो समयको नगर महोत्सवमा राष्ट्रियस्तरका कलाकारसमेत झिकाउने तयारी गरिएको छ । नगरले नेतृत्व लिएर सबै सरोकारवाला संघसंस्थासँग योजना बनाएर अर्जुनधारा महोत्सव सम्पन्न गर्ने नगर प्रमुख रानाले बताए । महोत्सवताका प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री र संघीय मन्त्रीलाई निम्त्याएर अर्जुनधाराको पर्यटकीयस्थलको अवलोकन गराई आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नु अर्को उद्देश्य रहेको पनि नगर प्रमुख राना बताउँछन् ।

प्रत्येक वडाको महोत्सवमा गोवर जाँच, पशु बन्ध्याकरण, कृतिम गर्भाधान, प्राविधिक परामर्श, अभिमुखिकरण, बाली उपचार, विषादी वितरण, कृषि प्रविधि सम्बन्धी ब्रोसर वितरण, माटो परिक्षण लगायत नगरका योजनाका विषयमा जानकारी गराइने जनाइएको छ । एक नम्बर प्रदेशका ७ जना सांसद् अर्जुनधारा नगर महोत्सवमा प्रत्यक्ष अवलोकन गर्न आउने भएका छन् । वडा नम्वर १ मा सांसद् अम्बिरबहादुर गुरुङ, वडा नं. २ मा राम राना मगर, वडा नं. ३ मा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, वडा नं.४ मा रामबहादुर राना, वडा नं. ५ को कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर आउने भएकी छन् ।

त्यस्तै वडा नं. ६ मा धर्मशीला चापागाई, वडा नम्वर ११ मा पवित्रा निरौला खरेल, वडा नं १० मा झलकसिंह दर्लामी, वडा नं.९ मा विर्ख प्रधान र वडा नं. ८ मा सांसद् जगदिशचन्द्र कुशियत महोत्सवको अवलोकन गर्न आउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुुर्तेलले जानकारी दिए । महोत्सवको मुख्य उद्देश्य धार्मिक तथा आन्तरिक पर्यटन प्रर्बधन, अव्यवस्थित बजार र पाकिङ्गलाई व्यवस्थित गर्ने लगायतका विषय रहेको नगरप्रमुख रानाले बताए ।