मुख्यमन्त्रीद्वारा होटल हिकोला हेरिटेजको उद्घाटन मुख्यमन्त्रीद्वारा होटल हिकोला हेरिटेजको उद्घाटन
बिर्तामोड : झापाको प्रसिद्ध होटल हिकोला हेरिटेजले काँकडभिट्टामा पनि सेवा बिस्तार गरेको छ । बिर्तामोडमा होटल हिकोला स्थापना गरेको पाँच वर्षपछि सञ्चालक देबीभक्त श्रेष्ठले... मुख्यमन्त्रीद्वारा होटल हिकोला हेरिटेजको उद्घाटन

बिर्तामोड : झापाको प्रसिद्ध होटल हिकोला हेरिटेजले काँकडभिट्टामा पनि सेवा बिस्तार गरेको छ । बिर्तामोडमा होटल हिकोला स्थापना गरेको पाँच वर्षपछि सञ्चालक देबीभक्त श्रेष्ठले पहिलो शाखा काँकडभिट्टामा विस्तार गरेका हुन् । आइतवार आयोजित समारोहबीच मुख्यमन्त्री शेरधन राईले काँकडभिट्टाको बाहुनडाँगी रोडमा रहेको हिकोला हेरिटेज होटलको रिबन काटेर औपचारिक उद्घाटन गरेका छन् ।

पर्यटन व्यवसायमा स्थापित भएका श्रष्टा एवम् उद्यमी श्रेष्ठले काँकडभिट्टामा होटल हिकोला हेरिटेज सञ्चालनमा ल्याएकोमा मुख्यमन्त्री राईले खुशी प्रकट गरेका छन् । ‘नेपाल भित्रिने पर्यटकका लागि यस्ता होटलले थप आकर्षण दिन्छन्’, मुख्यमन्त्री राईले भने, ‘यसका लागि सञ्चालक श्रेष्ठ धन्यवादका पात्र हुनुहुन्छ ।’ मुख्यमन्त्री राईले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा पर्यटन क्षेत्रले योगदान दिएको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश १ मा पाँचलाख पर्यटक भिर्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आउने विदेशी पर्यटकलाई पूर्वीनाकामा सुविधा पुर्याउने उद्देश्यले होटल स्थापना गरिएको सञ्चालक श्रेष्ठ बताउँछन् । मेची नेत्रालयसँगै जोडिएको घरमा सञ्चालनमा आएको होटलमा नेपाल भित्रिने पर्यटकले विशेष सुविधा पाउनेछन् । काँकडभिट्टादेखि १५ किलोमिटरको दूरीमा बागडुग्रा अन्तर्राष्ट्रिय एयरपोर्ट छ । नेपाल भित्रिने पर्यटकले पनि १५ किलोमिटरको दूरीमा भद्रपुर विमानस्थलको सेवा पाउँछन् । हवाई सेवाको पहुँचका दृष्टिले पनि होटल हिकोला हेरिटेज सेन्टरमा छ ।

 करिव डेढ करोडको लगानीमा सञ्चालनमा आएको होटल हिकोला हेरिटेजमा थकाली किचनको सुविधा रहेको सञ्चालक श्रेष्ठले बताए । हिकोला हेरिटेज काँकडभिट्टामा लिफ्टसहितको पहिलो होटल हो । २०४२ सालदेखि डेरी उद्योग सुरु गरेका श्रेष्ठले फोटोग्राफी र कलर ल्यावको क्षेत्रमा पनि आफ्नो विशिष्ट पहिचान बनाएका छन् । देश विदेशमा उनको हिकोला कलर ल्याव परिचित छ । हिकोलाको प्रसिद्ध ब्राण्डलाई उनले हिकोला कम्पनीका रुपमा स्थापित गर्दै २०७२ सालदेखि होटल व्यवसायमा लगानी सुरु गरेका थिए ।

साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष एवम् संरक्षक श्रेष्ठले अनुपमा ट्राभल्स पनि चलाउँछन् । साहित्य, कला र गायनमा स्थापित भइसकेका उद्यमी श्रेष्ठको ‘जाउँ जाउँ अर्जुनधारा जाउँ’ स्वरको भजन धेरै लोकप्रिय पनि छ । होटल उद्घाटनको अवसरमा साहित्य चौतारीको आयोजनामा तीन दिनसम्म पर्यटन प्रवद्र्धनमा कला, साहित्य र सङ्गीतको भूमिका बिषयक गोष्ठी गर्ने तयारी गरिएको छ । सञ्चालक श्रेष्ठले १५ दिनसम्म बहुभाषिक, बहुसाँस्कृतिक विविध मनोरञ्जनात्मक सन्ध्याकालीन साङ्गीतिक कार्यक्रम आयोजना गर्ने जानकारी दिए । ती कार्यक्रममा प्रख्यात युवाकवि नवराज पराजुली, गायिका टीका प्रसाई र कुशल वक्ता रमेश प्रसाईले प्रस्तुति दिनेछन् ।

सरकारले ल्याएको भ्रमण बर्ष २०२० लाई लक्षित र सहयोग गर्ने उद्देश्यले खुलेको उत्कृष्ट पर्यटकीय स्तरको यो होटलमा २ सय जना अट्ने एउटा ठूलो हल र १५० जना अट्ने अर्को हल रहेको छ । स्वीट, स्टान्डर्ड डिलक्स, रोयल स्वीट गरी २१ वटा रुमहरु रहेका छन् । एसी सुविधासहितको होटलमा मिनी बारसहितका रुम र आधुनिक किचन, रेष्टुरेन्ट र बार छन् । होटल उद्घाटन कार्यक्रममा पूर्वमन्त्री जितु गौतम, संविधानसभा सदस्य मनकुमार गौतम, संविधानसभा सदस्य उषा गुरुङ, प्रदेश सांसद् श्रीप्रसाद मैनाली, होटलकी सञ्चालिका उर्मिला बिमली लगायतको उपस्थिति रहेको थियो ।