सहकारी सूचना तथा स्रोत केन्द्र निर्माणका लागि आह्वान सहकारी सूचना तथा स्रोत केन्द्र निर्माणका लागि आह्वान
बिर्तामोड– झापा जिल्ला सहकारी सङ्घले सहकारी सूचना तथा स्रोत केन्द्र निर्माणका लागि सहयोग गर्न सबै प्रारम्भिक सहकारी संस्थालाई आह्वान गरेको छ । शनिवार बिर्तामोडमा... सहकारी सूचना तथा स्रोत केन्द्र निर्माणका लागि आह्वान

बिर्तामोड– झापा जिल्ला सहकारी सङ्घले सहकारी सूचना तथा स्रोत केन्द्र निर्माणका लागि सहयोग गर्न सबै प्रारम्भिक सहकारी संस्थालाई आह्वान गरेको छ । शनिवार बिर्तामोडमा भएको २३ औँ वार्षिक साधारणसभामार्फत सङ्घले सदस्य संस्थालाई यस्तो आह्वान गरेको हो ।

सङ्घका अध्यक्ष गणेश ढकालले प्रत्येक सहकारीका सदस्यबाट प्रतिसदस्य एकसय रुपैयाँका दरले भवन निर्माण कोषमा रकम सङ्कलन गरिने बताए । ‘यो रकम सहकारीकर्मीबाट ऐच्छिकरुपमा सङ्कलन गरिनेछ’, साधारणसभामा सङ्घका अध्यक्ष ढकालले भने, ‘सबैको सहयोगमा मात्रै सहकारी सूचना तथा स्रोत केन्द्र निर्माण सम्भव छ ।’

सङ्घले बिर्तामोड–२ चारपानेमा केन्द्र निर्माण प्रयोजनका लागि जग्गा खरिद गरेको थियो । खरिद गरिएको एक विघा जग्गामा सहकारी संस्थाहरुको स्रोत परिचालन गरी सहकारी सूचना तथा स्रोत केन्द्र निर्माण गर्ने सङ्घको तयारी छ । सङ्घमा अहिले ५०४ वटा सहकारी संस्था सदस्य छन् । तिनमा आवद्ध सदस्यबाट सङ्कलन हुने सानो रकमले केन्द्र निर्माण गर्न महत्वपूर्ण योगदान गर्ने सङ्घका सचिव युवराज ढकाल बताउँछन् ।

सङ्घले सदस्य संस्थालाई सात प्रतिशतका दरले यसवर्ष लाभांश दिने पनि जनाएको छ । न्यायोचित प्रतिफल वितरण गर्ने नीति अनुसार प्रारम्भिक सदस्य संस्थाहरुले लाभांश पाउन लागेका हुन् । सदस्य संस्थाबाट सङ्कलन भएको बचत तथा शेयर रकमले संस्थाहरुको तरलता व्यवस्थापनमा पनि सहयोग मिलेको अध्यक्ष ढकालले बताए । सङ्घले संस्थाको शेयर पूँजीको कम्तीमा एक प्रतिशत रकम सङ्घमा शेयरमा जम्मा गरिदिन पनि आह्वान गरेको छ ।

सङ्घको शेयर पूँजी असार मसान्तसम्म दुई करोड ३० लाख भन्दाबढी पुगेको छ । अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले शेयर पूँजी बढेको अध्यक्ष ढकालले जानकारी दिए । सङ्घले झापाको सहकारी अभियानलाई नीति, विधि र प्रविधिमा आधारित बनाउन जिल्लाका सबै स्थानीय तह अनुसार एकाई गठनलाई प्राथमिकता दिने भएको छ । व्यवसायिक लगानीका लागि विशिष्टिकृत सङ्घ निर्माणमा पनि जोड दिइएको अध्यक्ष ढकालले बताए । बचत तथा निक्षेप बृद्धि योजना अन्तरगत सदस्य संस्थाहरुले बचत रकम अनिवार्यरुपमा दुई लाख गर्नुपर्ने भएको छ । बचत रकमका आधारमा सङ्घले ७ देखि १० प्रतिशतसम्म व्याज दिनेछ ।

४५ प्रतिशत जनसङ्ख्या सहकारीमा
झापामा कूल जनसंख्याको ४५ प्रतिशत हिस्सा सहकारी अभियानमा जोडिएको सङ्घका अध्यक्ष ढकाल बताउँछन् । १५ हजार भन्दाबढी सहकारीकर्मी समिति र उपसमितिमा क्रियाशील छन् । ४५ अर्ब भन्दाबढी पूँजी झापाको सहकारी अभियानमार्फत परिचालन भएको छ । कृषि, पशुपालन, व्यापार, बैकल्पिक उर्जा लगायतका क्षेत्रमा यो पूँजी परिचालन भएको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि सहकारीको रकम परिचालन भएको छ । दूध तथा मासुको उत्पादन तथा बजारीकरणमा पनि सहकारीले लगानी गर्दै आएका छन् ।

व्यवसायिक दृष्टिकोणको खाँचो
प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना मगरले व्यवसायिक दृष्टिकोण र योजनाका साथ सहकारीहरु अघि बढ्नुपर्ने बताएका छन् । झापा जिल्ला सहकारी सङ्घको २३ औँ बार्षिक साधारणसभामा उनले उत्पादन र प्रवद्र्धनको क्षेत्रमा सहकारी अभियान जोडिन जरुरी भइसकेको बताएका हुन् । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले झापाको सहकारी अभियान देशमै प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, राष्ट्रिय सहकारी वैंकका लेखा संयोजक लक्ष्मी उप्रेतीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघको केन्द्रीय सदस्यमा निर्वाचित घनश्याम अधिकारी, राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा निर्वाचित मीनराज कँडेल र राष्ट्रिय सहकारी महासंघको प्रदेश १ को सञ्चालक सदस्यमा निर्वाचित झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई सम्मान गरिएको छ ।

कार्यक्रममा लेखा समितिका संयोजक भलाकाजी कठेतले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले संस्थाको विनीयम संसोधन गरेको गर्दै निर्वाचन निर्देशिका पारित गरेको छ । सङ्घको संसोधित विनियम सहकारी विभागको रजिष्टारले स्वीकृत गरेपछि नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ । संस्थाले कार्यसमिति निर्वाचनका लागि अधिवक्ता देवेन्द्र भण्डारीको संयोजकत्वमा पत्रकार सन्तोष आचार्य र सहकारीकर्मी खोम वगाले सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ ।