भ्रुणहत्या प्रकरण : गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध उजुरी भ्रुणहत्या प्रकरण : गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध उजुरी
पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा हत्या गरेर फालिएको भ्रुण प्रहरीले फेला पारेको छ । शुक्रबार दिउँसो सदरमुकाम फिदिममा सञ्चालित समर्पित अस्पताल परिसरमा... भ्रुणहत्या प्रकरण : गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध उजुरी

पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा हत्या गरेर फालिएको भ्रुण प्रहरीले फेला पारेको छ । शुक्रबार दिउँसो सदरमुकाम फिदिममा सञ्चालित समर्पित अस्पताल परिसरमा भू्रण फेला परेको हो । ‘अस्पताल नजिकैको आलुबारीमा भ्रुण फेला परेको हो,’ पाँचथरका प्रहरी निरीक्षक रोमनराज आर्यालले भने, ‘प्लाष्टिकमा प्याक गरेर पुरेको अवस्थामा भू्रण फेला परेको छ ।’ तर, भेटिएको भ्रुणको परीक्षण गर्न बाँकी रहेको उनले बताए ।

समर्पित अस्पतालमा पुस २६ गते राति यासोकस्थित सुकुम्बासि दलित परिवारकी १९ वर्षीया युवतीको पेटमा हुर्किएको २१ हप्ताको गर्भपतन गराइएको थियो । स्याबरुम्बाका रमेश खड्कासँग प्रेम विवाह गरेकी युवतीको पेटमा गर्भ थियो । अन्तर्जातीय विवाहबाट गर्भवती भएपछि अध्यक्षसहित रमेशको परिवारले दबाब दिएर जबरजस्ती गर्भपतन गराएका थिए ।

‘अध्यक्षको दबाबमा भू्रणहत्या’ शीर्षमा समाचार सार्वजनिक भएपछि चेम्जोङ फरार छन् । बुधबारदेखि चेम्जोङ सम्पर्कमा छैनन् । पीडित युवतीले अध्यक्षसहित सातविरुद्ध जाहेरी दिएकी छन् । जाहेरी परेकामध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘अध्यक्षसहित फरार रहेका सबैको खोजी भइरहेको छ,’ पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने, ‘प्रहरीले कानुन बमोजिम कारबाही अघि बढाएको छ ।’ भू्रणहत्याको समाचार सार्वजनिक भएपछि पत्रकारलाई मुद्दा हाल्ने भन्दै चेम्जोङ सदरमुकाम फिदिम आएका थिए । मुद्दा हाल्न हच्किएका उनले पत्रकार सम्मेलन गरेर समाचार लेख्ने पत्रकारविरुद्ध वातावरण बनाउने कोशिस गरेका थिए । एकाएक पत्रकार सम्मेलन पनि स्थगित गरेर चेम्जोङ बेपत्ता भएका छन् ।

अध्यक्ष चेम्जोङ बुधबारदेखि गाँउपालिकामा नभएको एक कर्मचारीले जानकारी दिए । समर्पित अस्पतालले गर्भपतनको स्वीकृति नलिइ गर्भपतन गराएको थियो । पुस २६ गते राति समर्पित अस्पतालमा युवतीको पेटमा हुर्किएको भू्रणहत्या गरिएको हो । केही दिनअघि मात्रै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि घटना सार्वजनिक भएको हो । गर्भपतन गराएको कुरा कसैलाई नभन्न पालिका अध्यक्षले धम्की दिएको युवतीले बताएकी छन् । अध्यक्ष चेम्जोङ भने बुधबार काम विशेषले विराटनगर गएको र दुई दिन यतादेखि सम्र्पकविहीन भएको स्थानीयले बताएका छन् ।