यौनाङ्ग काटेर कुटपिट, घाइते भएपछि आगो लगाएर हत्या यौनाङ्ग काटेर कुटपिट, घाइते भएपछि आगो लगाएर हत्या
 मान्छे कतिसम्म क्रुर बन्न सक्छ ? अझ अपराधका घटनामा कतिपय दानवीय प्रवृत्ति देखिन्छन् । झापाको चारपानेमा एक जनाको यसरी नै हत्या भएको अवस्थामा शव... यौनाङ्ग काटेर कुटपिट, घाइते भएपछि आगो लगाएर हत्या

 मान्छे कतिसम्म क्रुर बन्न सक्छ ? अझ अपराधका घटनामा कतिपय दानवीय प्रवृत्ति देखिन्छन् । झापाको चारपानेमा एक जनाको यसरी नै हत्या भएको अवस्थामा शव फेला परेको छ । स्थानीयका अनुसार सुरुमा ढुङ्गाले हानेर घाइते बनाइएका युवकलाई परालको कुन्युमा लगेर आगो लगाएर मारिएको छ । घटनास्थल वरपर रगत देखिएको छ भने मृतकको लिङ्ग पनि काटिएको स्थानीयले बताएका छन् ।

घटनास्थल भन्दा केहीपर कुटपिट गरेर रक्ताम्मे बनाइएपछि घिसार्दै ल्याएर कुन्युमा फ्याँकेर आगो लगाइएको जस्तो देखिएको स्थानीय बताउँछन् । स्थानीय ऐनकुमार राजवंशीको खेतमा ती पुरुषको शव भेटिएको हो । ‘शरीरका संवेदनशील अंगमा काटिएपछि घाइते बनाएर आगो लगाइएको जस्तो देखिएको छ’, एक स्थानीयले भने ।

झापा प्रहरीले पनि जलाएर एकजनाको हत्या भएको जनाएको छ । यद्यपि, झापा प्रहरीका प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले मृतक महिला वा पुरुष के हो भनेर स्पष्ट भइनसकेको बताए । स्थानीय सुभाङ शेख हराइरहेकाले शव उनैको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

चारपाने चोकदेखि दुई सय मिटर दक्षिणमा जलेको अवस्थामा शव भेटिएको हो । डीएसपी मुकुन्द रिजालले कुन्युसँगै जलेको अवस्थामा शव भेटिएको बताए । ‘घटनास्थलको प्रकृति हेर्दा सुरुमा कुटपिट गरी परालको कुन्युमा लगेर आगो लगाएको देखिन्छ’, डीएसपी रिजालले भने । प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अघि बढाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘प्रहरीले शेखको परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘घटनाको सबै अनुसन्धान पूरा हुन समय लाग्छ ।’ प्रहरीले सेखकी श्रीमती पारुका र छोरी सुष्मा सेखलाई नियन्त्रणमा लिएको छ । कुन्युमा राति आगो लाग्दा समेत प्रहरीलाई जानकारी नदिइएकाले घटना नियोजित हो भन्ने प्रहरी निष्कर्ष छ । खेतमा शव देखिएपछि स्थानीयले मंगलवार बिहान प्रहरीलाई खबर गरेका थिए ।