‘हिंसा अन्त्य गर्न आत्मनिर्भरताको खाँचो’ ‘हिंसा अन्त्य गर्न आत्मनिर्भरताको खाँचो’
धुलावारी– सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले हिंसा अन्त्य गर्न महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन् । नारी सञ्चार गृह झापाको आयोजना र मेचीनगर... ‘हिंसा अन्त्य गर्न आत्मनिर्भरताको खाँचो’

धुलावारी– सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले हिंसा अन्त्य गर्न महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन् । नारी सञ्चार गृह झापाको आयोजना र मेचीनगर नगरपालिका कार्यालयको सहयोगमा धुलाबारीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । आइतवार आयोजित लैङ्गिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी एकदिने कार्यक्रममा बोल्दै मन्त्री गजमेरले परनिर्भरताका कारण महिला बढी हिंसामा पर्ने गरेको भन्दै महिलालाई आत्मनिर्भर बनाउन योजना बनाएरै आफू अघि बढ्ने बताइन् ।

कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले लैंङ्गिक हिंसाका विषय उठान हुन थाले पनि अझैपनि बढीजसो महिलाहरु नै हिंसामा पर्ने गरेको आफूले पाएको बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा समाजमा देखिएका हिंसाका प्रकृति, समाजको परम्परागत सोच, विश्वमा महिला हिंसाको अवस्था लगायतका विषयमा अग्रज पत्रकार वविता बस्नेतले सहजीकरण गरेकी थिइन् ।

झापा जिल्लामा हिंसाको अवस्था र साइवर अपराधबारे झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिएका थिए । कोइरालाका अनुसार ६७ प्रतिशत हिंसाका घटनाको कारण मदिरा रहेको छ भने अधिकतम् घटनामा महिला पीडित रहेको पाइएको छ । सो अवसरमा मेचीनगर नगरपालिकाका न्यायिक समिति सदस्य इन्द्र प्रधान, एबीसी नेपालकी कञ्चना ढकाल, उमा भण्डारी, सविता भण्डारी, यमनाथ बराल, शुष्मा भण्डारी, शर्मिला अधिकारी, विष्णु मैनालीले हिंसा न्यूनीकरणका लागि आगामी दिनमा गर्नुपर्ने कार्यबारे सुझाव प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा झापाकी पहिलो महिला पत्रकार राधा शर्माले नारी सञ्चारगृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षय कोषका लागि पठाएको ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो । पत्रकार शर्माका दाजु कणाखर चौलागाँई र रञ्जु प्याकुरेलले संस्थाका अध्यक्ष अम्बिका भण्डारी, अक्षय कोषका संयोजक भीमा शिवाकोटी, कोषाध्यक्ष सुशिला संग्रौलालाई संयुक्तरुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । बाहुनडाँगी निवासी शर्मा हाल अमेरिका बस्दै आएकी छन् । कार्यक्रमको सञ्चालन सचिव रेजिना गौतमले गरेकी थिइन् ।