काँकडभिट्टामा पनि होटल हिकोला हेरिटेजको सेवा काँकडभिट्टामा पनि होटल हिकोला हेरिटेजको सेवा
मेचीनगर– झापा बिर्तामोडको प्रसिद्ध होटल हिकोला हेरिटेजले काँकडभिट्टामा पनि सेवा विस्तार गरेको छ । पहिलो शाखाका रुपमा काँकडभिट्टाको बाहुनडाँगी रोडमा होटल हिकोला हेरिटेज स्थापना... काँकडभिट्टामा पनि होटल हिकोला हेरिटेजको सेवा

मेचीनगर– झापा बिर्तामोडको प्रसिद्ध होटल हिकोला हेरिटेजले काँकडभिट्टामा पनि सेवा विस्तार गरेको छ । पहिलो शाखाका रुपमा काँकडभिट्टाको बाहुनडाँगी रोडमा होटल हिकोला हेरिटेज स्थापना भएको हो । मेची नेत्रालयसँगै जोडिएको घरमा सञ्चालनमा आएको होटलको मुख्यमन्त्री शेरधन राईले माघ २६ गते उद्घाटन गर्दैछन् । उद्घाटन समारोहमा सिक्किमका मुख्यमन्त्री पिएस गोले पनि विशेष अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ । पूर्वी सीमावर्ती क्षेत्रबाट स्थलमार्ग हुँदै भित्रिने पर्यटकको सुविधाका लागि होटल हिकोलाले काँकडभिट्टामा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

भारतीय सीमावर्ती क्षेत्रमा स्थापना भएको होटलले नेपाल भित्रिने पर्यटकलाई विशेष सुविधा दिने होटल हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठले बताए । काँकडभिट्टादेखि १५ किलोमिटरको दूरीमा बागडुग्रा अन्तर्राष्ट्रिय एयरपोर्ट छ । नेपाल भित्रिने पर्यटकले काँकडभिट्टाबाट १५ किलोमटिरको दूरीमा झापामा भद्रपुर विमानस्थलको सेवा पाउँछन् । हवाई सेवाको पहुँचका दृष्टिले पनि होटल हिकोला हेरिटेज सेन्टरमा रहेको सञ्चालक श्रेष्ठ बताउँछन् ।

करिव डेढ करोडको लगानीमा सञ्चालनमा आएको होटल हिकोला हेरिटेजमा थकाली किचनको सुविधा पनि छ । ‘हिकोला हेरिटेज काँकडभिट्टामा लिफ्टसहितको पहिलो होटल हो’, शनिवार होटलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चालक श्रेष्ठले भने, ‘अरु सेवा र सुविधाका हिसावले पनि हामी सबैको रोजाईमा पर्न सफल हुन्छौँ भन्ने लागेको छ ।’ यसअघि बिर्तामोडमा होटल हिकोलामा करोडौँ लगानी गरेका श्रेष्ठ यसको सफलतापछि काँकडभिट्टामा पहिलो शाखा स्थापनामा लागेका हुन् । विराटनगरमा पनि अर्काे शाखा खोलेर होटल व्यवसायमा थप लगानी बढाउँदै लैजाने श्रेष्ठको लक्ष्य छ ।

२०४२ सालदेखि डेरी उद्योग सुरु गरेका श्रेष्ठले फोटोग्राफी र कलर ल्यावको क्षेत्रमा पनि आफ्नो विशिष्ट पहिचान बनाएका छन् । देश विदेशमा उनको हिकोला कलर ल्याव परिचित छ । हिकोलाको प्रसिद्ध ब्राण्डलाई उनले हिकोला कम्पनीका रुपमा स्थापित गर्दै २०७२ सालदेखि होटल व्यवसायमा लगानी बढाएका हुन् ।

सरकारले ल्याएको भ्रमण बर्ष २०२० लाई लक्षित र सहयोग गर्ने उद्देश्यले खुलेको उत्कृष्ट पर्यटकीय स्तरको यो होटलमा २ सय जना अट्ने एउटा ठूलो हल र १५० जना अट्ने अर्को हल रहेको छ । स्वीट, स्टान्डर्ड डिलक्स, रोयल स्वीट गरी २१ वटा रुमहरु रहेका छन् । एसी सुविधासहितको होटलमा मिनी बारसहितका रुम र आधुनिक किचन, रेष्टुरेन्ट र बार छन् । होटल उद्घाटनको अवसरमा साहित्य चौतारीको आयोजनामा तीन दिनसम्म पर्यटन प्रवद्र्धनमा कला, साहित्य र संगीतको भूमिका बिषयक गोष्ठी गर्ने तयारी गरिएको साहित्य चौतारी झापाका अध्यक्ष टङ्क विकल्पले बताए । उनले १५ दिनसम्म बहुभाषिक, बहुसाँस्कृतिक विविध मनोरञ्जनात्मक सन्ध्याकालीन सांगीतिक कार्यक्रम आयोजना गर्ने जानकारी दिए । ती कार्यक्रममा प्रख्यात युवाकवि नवराज पराजुली, गायिका टीका प्रसाई र कुशल वक्ता रमेश प्रसाईले प्रस्तुति दिनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले पर्यटकलाई लक्षित गरी होटल खुल्ने क्रम सुरु भएको बताउँदै उनीहरुको सत्कारमा जुट्न सबैलाई आह्वान गरे । उनले हिकोलाले गरिरहेको कार्य प्रशंसनीय रहेको बताए । पत्रकार सम्मेलनमा गीतकार शिवशङ्कर थापाले साहित्य र कलाको विकासका लागि होटलका सञ्चालक देवीभक्त श्रेष्ठको योगदान प्रशंसनीय रहेको बताए । कार्यक्रममा सञ्चालकका तर्फबाट श्रेष्ठकी छोरी मनिताले सहभागी पत्रकार र अतिथिहरुलाई स्वागत गरेकी थिइन् । होटलले स्पा र ज्याकुजीसहितको सुविधा पनि दिने सञ्चालक श्रेष्ठ बताउँछन् । यसअघि बिर्तामोडको होटलमा पनि यो सेवा सुरु गरिएको थियो ।