कचनकवलमा वडैपिच्छे नमुना बाल विकास केन्द्र कचनकवलमा वडैपिच्छे नमुना बाल विकास केन्द्र
भद्रपुर– झापाको कचनकवल गाउँपालिकाले वडा तहमा बालबिकास केन्द्र स्थापनामा जोड दिएको छ । शिक्षा सुधारका लागि विशेष अभियानका रुपमा गाउँपालिकाले वडैपिच्छे नमुना बालबिकास केन्द्र... कचनकवलमा वडैपिच्छे नमुना बाल विकास केन्द्र

भद्रपुर– झापाको कचनकवल गाउँपालिकाले वडा तहमा बालबिकास केन्द्र स्थापनामा जोड दिएको छ । शिक्षा सुधारका लागि विशेष अभियानका रुपमा गाउँपालिकाले वडैपिच्छे नमुना बालबिकास केन्द्र स्थापनाको सुरुवात गरेको हो । गाउँपालिकाले बिहीबारदेखि ‘एक वडा, एक नमुना बाल विकास केन्द्र’ स्थापना कार्यको थालनी गरेको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कचनकवल–५ डाँगाबारीस्थित पशुपति प्राथमिक विद्यालयमा नमुना बाल विकास केन्द्रको स्थापना गर्दै वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा उद्घाटन गरेको छ । संघीय सांसद राजेन्द्र लिङदेन र गाउँपालिका अध्यक्ष अञ्जार आलमले नमुना बाल विकास केन्द्रको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै संघीय सांसद राजेन्द्र लिङदेनले भौतिक पूर्वाधारसँगै गाउँपालिकाको शिक्षा क्षेत्रमा विशेष लगानी गरिएको बताए । शिक्षा क्षेत्रमा नेपाल सरकारले गर्न नसकेको काम कचनकवल गाउँपालिकाले गरेको बताउँदै उनले भने, ‘१२ कक्षासम्म शिक्षामा पूर्ण निःशुल्कको व्यवस्था, छात्रालाई कलेजमा निःशुल्क व्यवस्था छ ।’ गाउँपालिकाले अहिलेसम्म विकास निर्माणको कामलाई मात्र तीव्रता दिँदै आएको छ । तर, विकासको मूल जड नै शिक्षा रहेको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

गाउँपालिका र संघीय सांसदको क्षेत्र विकास कोषबाट प्राप्त बजेटले यसवर्ष गाउँपालिकाको सातवटै वडामा आठ वटा नमुना बाल विकास केन्द्रको स्थापना गर्ने आलमले जानकारी दिए । पशुपति प्राविमा स्थापना गरिएको नमुना बाल विकास केन्द्रसँगै गाउँपालिकामा शैक्षिक सुधारको कामको सुरुवात भइसकेको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतले बताए । वाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्न व्यवस्था मिलाइएको छ ।

निजी विद्यालयले विद्यार्थी तानिरहेको अवस्थामा नमुना बाल विकास केन्द्र स्थापना भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ । गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १२ कक्षासम्म निःशुल्क र छात्रालाई कलेजमा निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ ।