महेन्द्र गिरीको अग्रसरतामा सुधार केन्द्र स्थापनाको प्रक्रिया सुरु महेन्द्र गिरीको अग्रसरतामा सुधार केन्द्र स्थापनाको प्रक्रिया सुरु
बिर्तामोड– झापामा समुदायस्तरबाट लागूऔषध दुव्र्यसन पुनःस्थापना तथा सुधार केन्द्र स्थापनाको प्रक्रिया सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत... महेन्द्र गिरीको अग्रसरतामा सुधार केन्द्र स्थापनाको प्रक्रिया सुरु

बिर्तामोड– झापामा समुदायस्तरबाट लागूऔषध दुव्र्यसन पुनःस्थापना तथा सुधार केन्द्र स्थापनाको प्रक्रिया सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत समुदायस्तरबाट केन्द्र सञ्चालनको प्रारम्भिक प्रक्रिया अघि बढाएको हो ।

झापाका सामाजिक अगुवा महेन्द्रकुमार गिरीको नेतृत्वमा केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको काम सुरु भएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । केन्द्रका लागि सोमवार बिर्तामोडमा आयोजित कार्यक्रमबीच सहारा साकोसका कार्यकारी निर्देशक गिरीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो ।

समितिका संयोजक गिरीले बिर्तामोड–२ मा कृष्ण प्रणामी मन्दिरको १० कठ्ठा जग्गा भाडामा लिने र थप दुई कठ्ठा जग्गा खरीद गरी पुनःस्थापना केन्द्र निर्माण गरिने बताए । ‘मुख्यतयाः समितिले जग्गा प्राप्तिका लागि प्रक्रिया सुरु गरेको छ’, उनले भने, ‘आर्थिक स्रोत जुटाएर जग्गा खरीदको प्रक्रिया पनि अघि बढाउने तयारी गरेका छौँ ।’

समितिको सह संयोजकमा अधिकारकर्मी विष्णु खरेल, सदस्यहरुमा ज्ञानुराम प्रसाई, नवीन गट्टानी, लीला चिमरियासहित एक स्थानीय तह र सदस्य सचिवका रुपमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी रहने व्यवस्था गरिएको छ । १५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख समितिको सल्लाहकार रहने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

‘केन्द्रका लागि चाहिने जग्गा व्यवस्थापन गर्न समितिले सक्रियता देखाएको छ’, एसपी कोइरालाले भने, ‘तत्काल यसको प्रक्रिया अघि बढ्छ ।’ जग्गा प्राप्त भए भौतिक पूर्वाधार व्यवस्थापनका लागि एक करोड रुपैयाँ आवश्यक पर्ने एसपी कोइराला बताउँछन् । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र प्रदेशका प्रहरी प्रमुख डीआइजी ठाकुरप्रसाद ज्ञवालीलाई साक्षी राखेर एसपी कोइरालाले केन्द्र निर्माणको लागत बजेटका विषयमा प्रष्ट्याएका छन् ।

झापामा अहिले व्यक्तिगत तथा गैरसरकारी संस्थामार्फत १३ वटा लागूऔषध पुनस्थापना केन्द्र सञ्चालन हुँदै आएका छन् । तर, सञ्चालनमा रहेका केन्द्र मापदण्डविहीन अवस्थाको रहेको समितिका सहसंयोजक अधिकारकर्मी खरेल बताउँछन् । ‘तिनको नियमन र व्यवस्थापनमा सरकारी चासो पर्याप्त छैन’, उनले भने, मनोबैज्ञानिक परामर्श र उपचारका लागि उनीहरुले बनाएको पूर्वाधार कमजोर छ ।’