मीरा राई : विश्वकै विलक्षण साहसिक महिला मीरा राई : विश्वकै विलक्षण साहसिक महिला
विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन् । लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल... मीरा राई : विश्वकै विलक्षण साहसिक महिला

विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन् । लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा एक हुन् ।

पुस्तकमा नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको विकट दुम्माना गाउँको गरीब परिवारमा जन्मिएकी मीराको विश्व चर्चित ट्रेल रनर बन्दासम्मको असाधारण यात्रालाई रोचकतापूर्वक वर्णन गरिएको छ । चेली क्यारोलको इलुस्ट्रेसन कलाले मीराको जीवन यात्रालाई अझ जीवन्त तुल्याएको हो ।

मीराका लागि सक्ने भएदेखि नै गाउँमा घाँस दाउराका साथै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो । आफ्नो उमेरभन्दा दोब्बर तौलको भारी बोकेर उकाली–ओराली गर्दा उनलाई अल्ट्रा म्याराथन खेल संसारमा हुन्छ भन्ने थाहै थिएन ।

जसोतसो एसएलसी पास गरेपछि अब के गर्ने, कसरी पढ्ने भन्ने कुराले उनलाई सताउन थाल्यो । गरीब परिवारसामु थप दुःख गर्नुबाहेक उपाय पनि थिएन । साथीहरूको लहलहैमा उनी १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगिन् ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि मीरा अयोग्य लडाकूको सूचीमा परिन् । सरकारले मात्र होइन, आफ्नै पार्टीले समेत अयोग्य भनेपछि उनी घर पनि फर्कन सकिनन् । घर फर्कन पनि नसकिने र जागिर पनि नपाइने त्यो बेला थुप्रै ‘अयोग्य’ लडाकू जिल्लामै सानोतिनो काम गर्न थाले ।

काठमाडौंमा उनकी साथी थिइन्, अनुपमा मगर । अनुपमा पनि मीराजस्तै माओवादी लडाइँमै सहभागी थिइन् । उनै अनुपमाले मीरालाई काठमाडौं आउन र कराँते खेल्न प्रोत्साहित गरिन् । उनै अनुपमा जसले १३ औं सागमा नेपाललाई कराँतेमा स्वर्ण पदक दिलाइन् ।

कराँते खेल्दै गर्दा मीराले एकपटक काम गर्न मलेसिया जाने बारे पनि सोचिन् । तर, गुरु ध्रुवविक्रम मल्लले केही समय धैर्य गर्न सल्लाह दिंदै अल्ट्रा म्याराथन बारे पनि जानकारी दिए । डाँडापाखा दौडने पनि खेल हुन्छ भनेर पहिलोपल्ट थाहा पाइन् ।

त्यसपछिकी मीरा आज विश्वसामु छिन् । सन् २०१५ देखि दौडन थालेकी मीराले अधिकांश दौडमा प्रथम स्थान हासिल गरेकी छन् । फ्रान्समा सन् २०१५ मा भएको प्रतियोगितामा उनी विश्व विजेता बनेकी थिइन् ।

मीरालाई नेशनल जियोग्राफिक पत्रिकाले सन् २०१७ मा ‘एडभेञ्चर अफ द इयर’ बाट सम्मानित गरेको थियो । मीरा अहिले पनि दौडिरहेकी छन् । यसका साथै उनी आफूजस्तै पृष्ठभूमि भएका बालिकाहरूलाई म्याराथन सिकाउने अभियानमा पनि लागिरहेकी छन् ।

आफैं पनि साहसिक खेलकी सौखिन लेखिका ड्यूले पुस्तकमा मीराबाहेक आन डानियल्स, जिन जियोङ, कारेन डार्के, सराह आउटेन, इम्मा तिमिस लगायतको कथा समेटेकी छन् ।