वामदेवलाई उपाध्यक्ष बनाउन विधान फेर्ने निर्णय वामदेवलाई उपाध्यक्ष बनाउन विधान फेर्ने निर्णय
सत्तारुढ दल नेकपाले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको चार महिनापछि उनका लागि विधिवत् उपाध्यक्ष पद सिर्जना गर्ने भएको छ । नेकपाले स्थायी... वामदेवलाई उपाध्यक्ष बनाउन विधान फेर्ने निर्णय

सत्तारुढ दल नेकपाले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको चार महिनापछि उनका लागि विधिवत् उपाध्यक्ष पद सिर्जना गर्ने भएको छ । नेकपाले स्थायी समिति बैठकबाट विधान संशोधन गरेर उपाध्यक्ष पदको व्यवस्था गर्ने तयारी गरेको हो । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने पूर्ववत् निर्णय कार्यान्वयन गर्न विधान फेर्ने निर्णय गरेको छ ।

नेकपाको विधानमा दुई अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी रहने व्यवस्था छैन । नौ जनाको सचिवालयमा वरिष्ठ नेता झलनाथ खनाल र अरु सबै सदस्य रहेका छन् । सोमबारको सचिवालय बैठकले पार्टी विधान संशोधनको प्रस्तावलाई स्थायी समिति बैठकमा लैजाने निर्णय गरेको हो । गत ३१ साउनमा बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लैजाने टुङ्गो गरेको थियो । तर, लामो समयसम्म स्थायी समिति बैठक नबस्दा र विधानमा उपाध्यक्षको व्यवस्था नहुँदा सचिवालयको निर्णय कार्यान्वयन भएको थिएन ।

दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपछिको पाँचौँ मर्यादामा रहने गरी गौतमलाई उपाध्यक्ष बनाउन लागिएको हो । यसअघि नेकपाको विधानमा उपाध्यक्षको व्यवस्था थिएन । २९ मंसिरमा सचिवालयले स्थायी समिति बैठक आह्वान गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा उपाध्यक्षको व्यवस्था हुने गरी सचिवालय बैठकले स्थायी समितिमा प्रस्ताव लैजाने तयारी गरेको बताए । ‘पार्टीमा उपाध्यक्षको व्यवस्था रहने गरी संशोधनको प्रस्ताव अघि बढाइएको छ र त्यसलाई आवश्यकताअनुसार स्थायी समिति र केन्द्रीय कमिटीमा प्रस्तुत गरेर अन्तिम रूप दिइनेछ,’ प्रवक्ता श्रेष्ठले भने । अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली स्वास्थ्यका कारण सहभागी भएनन् ।