भ्रमण वर्षको उद्घाटन कार्यक्रममै २ करोड खर्च गरिने भ्रमण वर्षको उद्घाटन कार्यक्रममै २ करोड खर्च गरिने
भ्रमण वर्ष २०२० को जनवरी १ तारिखमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा करिब २ करोड रुपैयाँ... भ्रमण वर्षको उद्घाटन कार्यक्रममै २ करोड खर्च गरिने

भ्रमण वर्ष २०२० को जनवरी १ तारिखमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा करिब २ करोड रुपैयाँ खर्च हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पाँचौँ मूल आयोजक समितिको छलफलमा सचिवालयले १ करोड ७५ लाख रुपैयाँ लागत अनुमान गरेको हो ।

सचिवालयले डिसेम्बर २१ तारिखदेखि पर्यटन वर्ष सुरुवात गर्ने तयारी गर्दै छ । डिसेम्बर अन्तिम दिन र जनवरी १ मा विभिन्न कार्यक्रमसहित पर्यटन वर्ष उद्घाटन गरिने भएको छ । उक्त दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरप्राइज वेलकम गरिनेछ । सडक मार्ग हुँदै आउने पर्यटकलाई माला र हात्तीद्वारा स्वागत गरिनेछ ।

फायरवर्क्सदेखि शंखनाद
पर्यटन वर्ष उद्घाटनका क्रममा फायरवर्क्सदेखि शंखनादसम्म भ्रमण गरिने भएको छ । भ्रमण वर्षको पहिलो दिन बिहान पशुपतिमा १ सय ८ वटा शंख फुकिनेछ भने बौद्ध, लुम्बिनी र स्वयम्भूमा भिक्षुहरूले प्रार्थना गर्नेछन् । त्यस्तै, फायरवक्र्ससहित भ्रमण वर्षको २०२० को लोगो स्क्रिनमा देखाइनेछ भने १ हजार रंगिन बेलुनहरू आकाशमा उडाइनेछ । नेपाल आर्मी, सशस्त्र र नेपाली प्रहरीले विभिन्न खेल प्रदर्शन गर्नेछन् ।

त्यस्तै, एकताको प्रतीकका रूपमा प्रत्येक प्रदेशबाट टर्च (ज्वाला) ल्याइनेछ । प्रदेशका प्रख्यात ठाउँहरू जस्तै बराह क्षेत्र, जानकी मन्दिर, पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, पञ्चकोसी र शैलेश्वरीजस्ता पवित्र स्थलहरूबाट प्रसिद्धि कमाएका व्यक्तिहरूबाट ल्याइनेछ । सातवटै प्रदेशबाट ल्याइएका टर्चहरूसहित राष्ट्रपति भण्डारीले पर्यटन वर्षको उद्घाटनमा दियो बाल्नेछिन् । नेपाल आउने प्रत्येक विदेशी जहाजमा नेपाल भ्रमण वर्षको प्रचारसहित जिंगल बजाइने भएको छ । मुख्य आयोजक समितिको छलफलमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जहाज अवतरण गर्नुपूर्व कम्तीमा दुई मिनेट नेपाल भ्रमण वर्षको गीत बजाउन सुझाब दिएका हुन् ।

अन्तरप्रदेश उडानमा छुट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको अवधिमा हवाई यातायालाई सहज बनाउन अन्तरप्रदेश उडानमा छुटको व्यवस्था गरिने बताएका छन् । डिसेम्बरदेखि विदेश जाने नेपाली श्रमिक वा पर्यटकलाई भ्रमण वर्षको कार्ड वितरण गरिनेछ । सोमबार आयोजित छलफलमा मन्त्री भट्टराईले आगामी एक साताभित्रमा सबै संघ–संस्थाहरूलाई भ्रमण वर्ष लक्षित कार्यक्रम लिएर आउन निर्देशन दिएका छन् । nayapatrika.com