मेची नदीमा बीच भलिबल मेची नदीमा बीच भलिबल
भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदी किनारमा रिभर साइड ‘बीच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । यस्तो खेल मेची अञ्चलमै पहिलो पटक आयोजना गरिएको... मेची नदीमा बीच भलिबल

भद्रपुर । झापाको भद्रपुरस्थित मेची नदी किनारमा रिभर साइड ‘बीच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ । यस्तो खेल मेची अञ्चलमै पहिलो पटक आयोजना गरिएको हो । भारतसँग सीमा जोडिएको मेची नदीमा निर्माण सम्पन्न भएको पूलको उपादेयता प्रचार गर्ने, दुई देशबीच सद्भाव विस्तार गर्ने र मेची नदी किनारलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले अन्तर्राष्ट्रि मानवता दिवससमेतको अवसर पारेर भद्रपुर नगरपालिका वडा नं ५ ले आयोजना गरेको अन्तर वडास्तरीय नकआउट मेची रिभर साइड बीच भलिबल प्रतियोगिताको बिहीबार एक समारोहका बीच १ नं प्रदेश सांसद ओमप्रकाश सरावगी र र भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

योगेन्द्र पौडेलले सञ्चालन गरेको उद्घाटन समारोहका अध्यक्ष तथा वडा नं ५ का अध्यक्ष बन्धु कार्कीले स्वागत गर्दै प्रतियोगिता आयोजना गर्नुको उद्देश्य प्रकाश पारेका थिए । प्रतियोगिताकै सन्दर्भमा भद्रपुर नगरपालिका अगाडिबाट विद्यार्थी तथा खेलाडीहरु सहभागी विभिन्न झाँकीसहितको र्याली कार्यक्रमस्थल पुगेको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । प्रतियोगिताको पहिलो दिन वडा नम्बर ५, ३ र २ ले जीत हात पारेका छन् । वेस्ट अफ थ्रीको अधारमा खेलाइएको पहिलो खेलमा वडा नम्बर ५ ले १० लाई २१–८, २१–८ को सोझो सेटमा पराजित गर्यो । खेलको म्यान अफ् द म्याच वडा नम्बर ५ का भरत यादव भए ।

दोस्रो खेलमा वडा नम्बर ३ ले ९ लाई २१–८, २१–८ को सोझो सेटमा पराजित गर्यो । खेलको म्यान अफ् द म्याच वडा नम्बर ३ का प्रमोद पाण्डे भए । तेस्रो खेलमा वडा नम्बर २ ले १ लाई १३–२१, २१–१९ र १५–१० ले पराजित गर्यो । १ ले पहिलो सेट जित्दा २ ले दोस्रो र तेस्रो सेट जितेको थियो । खेलको म्यान अफ् द म्याच वडा नम्बर २ का सुनिल तामाङ भए । प्रतियोगिता पुस ७ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगतामा भद्रपुरको १० वटै वडाबाट एक–एक वटा टिक सहभागी छन् । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजारसहित शील्ड प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद १५ हजार र तृतीय हुने टिमलाई नगद ८ हजारसहित शील्ड प्रदान गरिने आयोजक ५ नं वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।

प्रथम पुरस्कार मुना चियाका सञ्चालक महेश मित्तल, द्वितीय पुरस्कार वडासदस्यसमेत रहेका उद्योगी अजय साहेवाला र तृतीय पुरस्कार आँगन मसलाका सञ्चालक विगत ओझाले उपलब्ध गराउने छन् । प्रतियोगिताको समापन समारोहमा आयोजकले झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी, पूर्व फुटबल खेलाडी दिलीप भूइमाली र नेपाल पुलिस क्लवका भलिबल कोच सरोज श्रेष्ठलाई नगदसहित सम्मान गर्ने बताइएको छ ।