धान उत्पादनका लागि झापा महत्वपूर्ण जिल्ला हो । कृषि मन्त्रालयको अभिलेखले पनि झापामा सबै भन्दाबढी धान उत्पादन हुने गरेको देखाएको छ । तराईका जिल्लामा... यसवर्ष झापामा फल्छ त धान ?

धान उत्पादनका लागि झापा महत्वपूर्ण जिल्ला हो । कृषि मन्त्रालयको अभिलेखले पनि झापामा सबै भन्दाबढी धान उत्पादन हुने गरेको देखाएको छ । तराईका जिल्लामा धान उत्पादनका दृष्टिले पनि झापा अब्बल छ । झापा, मोरङ, सुनसरी लगायतका जिल्लाले खाद्यान्नको माग धानिरहेका छन् । यद्यपि नेपालीको भाते संस्कृतिका कारण बर्सेनि अर्वाै रुपैयाँको धान चामल आयात गरिरहनु परेको छ । यसले हाम्रो व्यापार घाटा बर्सेनि चुलिँदै जान्छ ।

यसवर्ष पनि धान रोपाई सुरु भएको छ । मानो छरेर मुरी उब्जाउने आशा बोकेका किसान खेतमा पसिना बगाउँदैछन् । झापाली किसानले असार १५ अघि रोपाई सुरु गरेका थिए । केही दिनअघि सम्म पर्याप्त पानी थियो । तर अहिले पानी परेको छैन । पानी अभावका कारण रोपाईले गति लिन नसकेको किसानले गुनासो गरिरहेका छन् । सिँञ्चाई सुविधाको अभाव भएका जमिनमा रोपाई गर्न आकासे पानीको भर पर्नु पर्छ । जव पर्याप्त पानी पर्छ, तब मात्रै रोपाईँ हुन्छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार सिँञ्चाई सुविधाको अभावमा धेरै जमिनमा अझै पनि रोपाईको सुरसार भएकै छैन । यसअघिको लगातारको झरीले धेरैलाई साथ दिए पनि भरपर्दो सिँञ्चाई सुविधा नभएको ठाउँमा भने समस्या चर्को छ । अलि अलि आकासे पानीका भरमा रोपाईँ नहुने जमिन झापामा धेरै छ । पानी परेको केही समयपछि जमिन सुकिहाल्ने समस्याले पनि किसान पीडित छन् । कतिपय धानका जात यस्ता छन्, जो समयमा नरोपे सप्रिदैनन् । उत्पादन खासै हुँदैन ।

भरपर्दो सिञ्चाई सुविधा नभएका, आकाशे पानीको भरमा खेती गर्दै आएका, लामो समयसम्म पानी जम्न नसक्ने जमिन भएका किसान यतिबेला सोचमग्न छन् । सिँञ्चाईको भरपर्दाे सुविधा भएको भए उनीहरुले यतिधेरै चिन्ता लिनु पर्ने थिएन । उत्पादन राम्रो भए आफूलाई खान पुग्ने राखेर दुई तिहाई अन्न अन्यत्र निर्यात गर्न सक्ने जिल्ला हो झापा । तर, खेतीयोग्य जमिनको झण्डै आधा क्षेत्रफल आकाशे पानीको भरमा रहेका कारण बहुसंख्यक किसानले कहिल्यै समयमा खेती गर्न पाउँदैनन् ।

झापामा ४१ हजार हेक्टर भन्दाबढी जमिन आकाशे पानीकै भरमा छ । यसर्थ पनि झापाका किसानलाई सिञ्चाई सुविधाको खाँचो छ । भाषणमा होइन, व्यवहारमा उनीहरुले खेती गर्न पानी पाउनु पर्छ । झापाका स्थानीय तहले आकासे पानीको भरमा रहेको जमिनमा सिँञ्चाई सुविधा पुर्याउने योजना अघि सार्न सकेका छैनन् । उनीहरुले सार्वजनिक गरेको बजेटमा पनि त्यो कुरा उल्लेख छैन । यो सबैभन्दा दुखलाग्दो पक्ष हो । पर्याप्त मात्रामा पानीको सुविधा उपलब्ध भयो भने झापामा धानको उत्पादन अझै बढ्ने निश्चित छ । यसका लागि सरोकारावालाको इच्छाशक्तिको खाँचो छ ।