थुइक्क ! हामी नेपाली थुइक्क ! हामी नेपाली

थुइक्क ! हामी नेपाली





सम्पादकीय १९ असार २०७५, मंगलवार १२:२२

कृषिप्रधान मुलुक भए पनि हामी खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनौँ । अरु देशबाट ल्याइएको खाद्यान्नले हाम्रो भान्सा धानिरहेको छ । हामी स्वाभिमानका कुरा गर्न... थुइक्क ! हामी नेपाली

कृषिप्रधान मुलुक भए पनि हामी खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनौँ । अरु देशबाट ल्याइएको खाद्यान्नले हाम्रो भान्सा धानिरहेको छ । हामी स्वाभिमानका कुरा गर्न हौसिन्छौँ । प्रतिस्पर्धा गर्छाै । एकले अर्कालाई राष्ट्रियता सिकाउँछौँ । राजनीतिक गफ दिन्छौँ । समाजवाद पढाउँछौँ । आर्थिक विकास र समृद्धिका चर्का कुरा गर्न पनि हामीलाई आउँछ । अहिले चलिरहेको विश्वकपका विषयमा पनि हाम्रा आफ्नै तर्क छन् । टीमको पक्ष विपक्षमा उभिन्छौँ । हार्नेलाई खिसी गर्छाैँ । धज्जी उडाउँछौ ।

हामी अरुका विषयमा चिन्ता गर्छाै । आफ्ना विषयमा सिन्को भाँच्दैनौँ । हामीलाई अतिकति पनि हीनताबोध छैन । लज्जा महसुस गर्न सकिरहेका छैनौँ । किनकि हामी नेपाली हौँ । हाम्रो श्रम गर्ने तागत छैन । बसिखान पल्किएको जस्तो व्यवहार छ । दूधका पारखी छौँ । दूध नहालेको चिया स्वाद लाग्दैन । हामी गाई पाल्न सक्दैनौँ । मासुका सौखिन छौँ । खसी बाख्रा र बोका भारत र चीनबाट ल्याउनु पर्छ । रायोको साग र धनियाँ मिठो लाग्छ, करेसावारी खोस्रिन समय छैन । स्वादिलो हुने चामल किन्न तयार हुन्छौँ । खेत प्लटिङ गर्छाै ।

बारीमा कागती फलाउने योजना छ, तर जाँगर चल्दैन । प्याज र लसुन नभई तरकारी रुच्दैन । टमाटरको अचार छैन भने भात नखाउँ जस्तो लाग्छ । स्वादे जिव्रो अल्छे तिघ्रो भन्ने उखान पनि हामीलाई थाहा छ । तर पनि हाम्रो मन पोल्दैन । अरु के कुरा दशैँ तिहारमा फुल चाहिन्छ । हामी अरुकै भर पर्छाै । भारतले फुल दिएन भने हाम्रो तिहार खल्लो हुन्छ । गलामा माला हुँदैन । किनभने हामीसँग फुल रोप्ने जाँगर छैन । हामी व्यस्त छौँ । मस्त छौँ । यति भएपछि के नै चाहियो र ? हामीसँग पैसा छ ?

परनिर्भरता हाम्रो संस्कृति भएको छ । परिचय भएको छ । पैसाले जाँगर मरेको छ । आफ्नो उत्पादनमा होइन, अरुका उत्पादनमा हामी रमाएका छौँ । आश्रित भएका छौँ । अनि कसरी आर्थिक समृद्धि र विकास सम्भव छ ? हामीसँग कुनै उत्तर छैन । उत्तर छ भने हाँसेर लाज टारिरहेका छौँ । भारत, चीन, युरोपदेखि मध्य अमेरिकी राष्ट्र निकारागुवा सम्मबाट आयात गरिएका तरकारी, फलफूल, चामल, मासु लगायतका सामग्री हाम्रो भान्सामा आइपुग्छन् । हाम्रो भन्ने चीज छैन । मासिक तीन अर्ब ३४ करोड ७५ लाख रुपियाँको खाद्यान्न आयात भइरहेको छ । चामल, मकै, गहुँ, कोदो, जौ अरुतिरबाट आउँछन् ।

चामल आयातमा मात्रै बर्सेनि २७ अर्ब रुपियाँ खर्च हुन्छ ।  यसमध्ये २३ अर्ब रुपियाँको चामल भारतबाट मात्रै आउँछ । यसबाहेकको बंगलादेश, थाइल्यान्ड, अमेरिका, चीन, भियतनाम, दक्षिण कोरिया, फिलिपिन्स र इटालीबाट आएको चामल खान्छौँ हामी । अनि भन्छौँ हामी कृषिप्रधान देशका नागरिक ।  बर्सेनि ३४ अर्ब हाराहारीको तरकारी र फलफूल आयात हुन्छ । भारत र थाइल्यान्डबाट करिब एक अर्ब रुपियाँको सुन्तला आयात भएको छ । ४२ करोडको केरा आयात भएको छ, भारत र चीनबाट ।

फलफूलको राजा मानिने आँप आयातमा मात्रै हामीले एक वर्षमा ४० करोड रुपियाँ खर्चेका छौँ । यो बंगलादेश, थाइल्यान्ड र भारतबाट आयात भइरहेको छ । कागतीमा मात्रै मुलुकले करिब २१ करोड रुपियाँ खर्चेको छ । भारत र थाइल्यान्डबाट १० करोड रुपियाँको अंगुर किनिएको छ । यो भन्दा ठूलो उपलब्धि के हुनसक्छ हाम्रा लागि ? थुइक्क हामी नेपाली । हामीलाई लाज लाग्नु पर्ने हो । पैसाको माया लाग्नु पर्ने हो ।